महाकवि देवकोटा पुरस्कारद्वारा पाँच स्रष्टा सम्मानित

काठमाडौं,पुष १६ । सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कारद्वारा भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुने स्रष्टाहरुमा कवितातर्फ रामचन्द्र भट्टराई, निबन्ध समालोचनातर्फ निनु चापागाईं, आख्यान नाटकतर्फ मनु ब्राजाकी, बालसाहित्य लोकसाहित्यतर्फ शान्तदास मानन्धर र साहित्य सेवातर्फ रमेशरञ्जन झा हुनुहुन्छ । सो अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पुर्‍याउने ती स्रष्टाहरुलाई पुरस्कार प्रदान गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । प्रधानमन्त्री भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित मात्र नभएर आधुनिक नेपाली साहित्यको जग बसाल्ने प्रगतिशील र आधुनिकतावादी धारा एवम् प्रवृत्तिका स्रष्टा रहेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्ने कालजयी भनाइमार्फत समाजमा रहेको विभेदविरुद्ध कलम चलाउने महाकवि देवकोटालाई स्वच्छन्दवादी, प्रकृतिप्रेमी र राष्ट्रवादीका रुपमा लिन सकिने बताउनुभयो । उहाँले कविता, निबन्ध, नाटकलगायतका लेखनमा कलम चलाउँदा नयाँ शब्दको सिर्जना गरी नेपाली साहित्यलाई झ्याङ्गिने र फैलाउने काममा उल्लेख्य योगदान दिने महाकवि देवकोटा उच्च कोटीका सर्जक रहेको धारणा व्यक्त गर्नुभयो । “साहित्य, कला र संस्कृति समाजको ऐना भएको र बाह्य तथा आन्तरिकरुपमा देशलाई समृद्ध भएको परिचय दिन यसले योगदान दिन्छ, सिर्जनाका माध्यमबाट स्रष्टाहरुले राष्ट्रको विकासमा योगदान पुर्‍याउने कुरा निर्विवाद छ,” प्रधानमन्त्री भट्टराईले बताउनुभयो । प्रधानमन्त्री भट्टराईले महाकवि देवकोटाको जीवनको अन्ततिर प्रगतिशील साहित्य नै मुक्तिकामी जनताको आवाज हो र यसैबाट राष्ट्रको उन्नतिमा आवश्यक सहकार्य, सहअस्तित्व र समानतालाई टेवा दिन्छ भन्ने धारणा सिर्जनाका माध्यमबाट अभियानका रुपमा राख्ने महाकविको विचार तत्कालीन शासक र सामन्तीहरुलाई अत्यन्त बाधाका रुपमा विशाल चट्टानझैँ खडा भएको बताउनुभयो । उहाँले महाकवि देवकोटा पुरस्कार नेपाली भाषामात्र नभई नेपालमा बोलिने र लेखिने भाषा साहित्यका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई पनि प्रदान गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले समाजको विकास र विस्तारमा भाषा, साहित्यको महत्वपूर्ण योगदान रहने बताउँदै महाकवि देवकोटाको लेखनले पनि नेपाली साहित्यलाई समृद्व बनाउन उच्च योगदान दिएको धारणा राख्नुभयो । पुरस्कार छनोटका लागि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य प्रा डा महादेव अवस्थी संयोजक र प्रा डा देवीप्रसाद गौतम, मातृका पोखरेल, विश्वभक्त दुलाल र रमेशप्रसाद भट्टराई रहनुभएको पुरस्कार सिफारिश समिति गठन गरिएको थियो । गत वर्षदेखि आरम्भ गरिएको सो पुरस्कारबाट २०६८ सालमा कालीप्रसाद रिजाल, प्रा डा केशवप्रसाद उपाध्याय, मदनमणि दीक्षित, धर्मराज थापा र रमा शर्मा पुरस्कृत हुनुभएको थियो । रासस

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)