काठमाडौं,माघ ६ । राजधानी लगायत देशका अधिकांश ठाउँमा हिउँदे वर्षा भएको छ । यस बर्षको हिउँदमा यो पहिलो बर्षा भएको हो । पश्चिम पहाडका केही स्थानमा भने विहीवार रातिदेखि नै बर्षा भए पनि काठमाडौंमा भने शुक्रबार दिउँसोदेखि मात्र पानी परेको हो । काठमाडौंमा ११ दशमलव ३ मिलिलिटर पानी परेको मौसम विभागले जनाएको छ । पुस माघमा औसत १५ मिलिमिटर वर्षा हुने तथ्यांक मौसम पूर्वानुमान महाशाखाको भए पनि यो वर्ष अहिलेसम्म वर्षा भएको थिएन । सन् १९९६ मा यही महिना सर्वाधिक ६२ मिलिमिटर वर्षा भएको रेकर्ड मौसम पूर्वानुमान महाशाखासँग छ । बर्षापछि राजधानी लगायत देशैभर फेरि चिसो बढेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ ।