पाल्पा,माघ ८ । पाल्पाको रामपुरमा स्थानीय सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शमा उत्रिएका स्थानीयवासी र प्रशासनबीच सोमबार ५ बूँदे सहमति भएको छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल र क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट गएका प्रहरी उपरीक्षक मनोज न्यौपानेको अगुवाईमा भएको वार्तामा सहमति भएको जनाइएको हो । सहमति अनुसार आजै साँझदेखि रामपुरमा कफ्र्यु हटाइने र मृतक सोनु श्रेष्ठको दाहसंस्कार पनि गरिने छ । त्यस्तै सोनुको हत्याको छानविनका लागि कार्यदल बनाइएको र सो कार्यदलले सातदिन भित्र प्रतिवेदन दिने र सोही अनुसार कारबाही अघि बढाइने सहमति पनि भएको जनाइएको छ । पाल्पा जिल्ला प्रशासन, पीडित पक्ष, स्थानीय महिला संजाल र नागरिक समाजका प्रतिनिधिबीच सहमति भएको हो । डेढ महिनादेखि वेपत्ता रहेकी सोनु श्रेष्ठको शव गत शनिबार कालीगण्डकी किनारमा फेला परेपछि स्थानीय वासिन्दा ठूलो संख्यामा सडकमा उत्रिएका थिए । हत्यारालाई कारबाही गर्न प्रहरीले आनाकानी गरेको भन्दै हिजो सडकमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रामपुरमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।