काठमाडौं,माघ ८ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलनलाई थप सशक्त बनाउन आफ्ना भ्रातृ संगठनहरुलाई निर्देशन दिएको छ । पार्टी केन्द्रिय समितिको बैठकले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेलगतै काँग्रेसले भ्रातृसंगठन तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई पार्टी कार्यालयमै बोलाएर आन्दोलनलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । सोमबार नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल र विभिन्न शुभेच्छुक संघसंस्थालाई पार्टी केन्द्रीय कार्यालयमा बोलाई सरकारविरुद्ध आन्दोलनको रणनीतिबारे बारे जानकारी गराउनुभएको थियो । विगतमा पनि पटक पटक सरकारविरुद्ध आन्दोलन गरिसकेको काँग्रेसले यस पटकको आन्दोलनलाई भने उपलब्धिमूलक बनाउने दावी गरेको छ । त्यसका लागि भ्रातृ संगठनहरुलाई व्यापक रुपमा परिचालन गर्ने कांग्रेसले जनाएको छ । पार्टीको निर्देशन पाएका भ्रातृ संगठनका नेताहरुले पनि पार्टीको निर्देशन बमोजिम आन्दोलनलाई सफल पार्ने बताएका छन् । माघ ६ गते दैलेखबाट सरकारविरुद्ध आन्दोलनका सुरु गरेका विपक्षी दलहरुले आन्दोलनलाई प्रतिष्ठानको विषय बनाएका छन् ।