
सांस्कृतिक महत्व राखेपनि नेपाली समाजमा गाइजात्राको भिन्दै डिमान्ड छ । रंगकर्मी, कलाकार, नाट्यवर्ग येसैका निम्ती महिनौ पूर्व तयारी गर्छन्। अनी सुरु हुन्छ बिकृतिका चर्तिकलाहरुको पाइरेसी। हास्ने हसाउने र थपडि मार्नेहरुको मेला भर्ने दिन। प्रसंग हो राष्ट्रिय सांस्कृतिक तथा राजनैतीक पर्व गाइजात्राको । नेपाली राजनैतीक फाट्मा तिथिमिथि बिनाको गाइजात्रा चलिरहन्छ। कलाकारहरु पनि निकै मुर्त भूमिका पस्कन सक्ने क्षमतावान छन। यिन्का कलाको अंग्रेजिमा डकुमेन्ट्री अथवा चलचित्र बनाउने हो भने ओस्कारमा मनोनयन नहोला भन्न सकिन्न। हाल्सालै खाओबादी गाइजात्रे कलाकारहरुको समुहले एउटा कार्यक्रम सम्पन्न गरिसकेका छन जुन पङ्तिकारका शब्दमा एस्तो थियो.. अस्ती यिनैले केही हजार कलाकारहरु छनौट् गरे। कार्यक्रम गर्न,गराउन प्रशिक्षण दिए। बरा साना तिना कलाकार जोड्तोड्का साथ लागे,दिन रात नभनी दसौ बर्षा बारुद्का तिहार मनाइरहे । येस्पाली कार्यक्रम देखाउने समय आएको थियो, जसमा निकै आम्दानी हुने आशा यिनका हिजै करोडौ तोकिसकिएका टाउकेहरुले देखाएका थिए। शायद बर्तमान मा त अरबौ भाईसक्यो होला बित्तशास्त्रको टाइम भ्यालु अफ मनि अनुसार हिसाब गर्ने हो भने त! सास रहुन्जेल आस भनेझै हिजो दशौ बर्ष कुरियो भनेर येस्पाली चै राम्रै पारिश्रमिक् पाइने आशमा बसेका थिए कलाकारहरु, प्रतिक्षाको मिठो फलले भोक प्यास बुझाउने आशमा थिए कलाकारहरु।। निर्धारित समय अनुसार गर्भवतिले सन्तान त पाउन नसक्ने हाम्रो मुलुकमा यिनका कार्यक्रमको साइत ज्योतिशलाई देखाउदा देखाउदै मुस्किलले तय भयो। अरब मुल्य पर्ने टाउकेहरु सिँहको मुकुन्डो ओडेर आए। बरा पारिश्रमिक् थाप्न बसेका साना कलाकारहरुलाई सातो खान्छौ झै गरी चोर् औंला ठड्याएर म्याउको स्वरमा गर्जिए। रिसले चुर भएका कलाकारहरुको पारो अचानक तातो चियामा चोपेको थर्मोमिटर झै भयो। अनी सुरु भयो असली गाइजात्रा, यस बर्षको सुपर्हिट गाइजात्रा। कृतिम बादल मडारिन थाले। मुक्काका असिना सिधै तालुमा बजारिन पुगे, छाताले छेक्न खोज्दा खोज्दै हावा हुन्डरिले कुर्ची उडाएर ल्यायो, त्यसले सिधै मेरुदन्डका जोर्नी खल्बल्यैदियो। एक्सन कट अगाबै सुरु भो गाइजात्रा अनी भिड्न थाले साँढेहरु।। पृष्ठभुमिमा गीत बज्न थाल्छ छन्द न बन्दको अनी उफ्रन थाल्छन् नानीका बाहरु। हेक्का पाउन येसपालि नि सार्है नै पर्छ नानीका बाहरुले खुट्टा मात्र उचालेका हुन कि साच्चै नाचेका ! साँढे जुधाइको चर्चा शहरका गल्ली-गल्लिमा हुन्छ। फुर्सदिला चिया चुरौटेका दैनिकी बहस बन्छ, कान्छीको भट्टिमा एक गिलास तिन्पाने स्वाट्ट पारेर सुरु हुन्छ चियो चर्चा, खडेरिले सुकेका आली खनेर पसिना पुच्छ्दै-सुस्ताउदै सुरु हुन्छ लाठेहरु बिच तिनैका चर्चा, यत्र तत्र सर्बत्र हुन्छ तिनै साँढेको चियो चर्चा। घुम्रे धारोको थोपा कुरेर गाग्री र चार तिर टालेका प्लास्टिकका जर्किन लिई लाम लागेका छिमेकी बिच हुन्छ तिनैका चर्चा। अनी फेरी सुरु गर्छन् पाइरेसी। पालो मिचिस भन्दै जुल्ठ्हो समाउदै यहाँ फेरी जुध्छन जनता , बेरोजगार तिन्पाने खल्ती छाम्दै कान्छीलाई खातामा चढाउन अनुनय बिनय गर्छ अनी त्यही सुरु हुन्छ अर्को गाइजात्रा।। गाइजात्रामय छ देश।साउनमा उर्लेको खहरे झै आउछ नेताको मुखारबिन्दबाट बिकासे वाणिहरु, अनी तिनका वाणिले ५१ औ दिवस मनाउन नपाउदै सुकिसक्छन खहरेहरु, ति मात्र हुन्छन गाइजात्रे पात्रहरु। गगन्चुम्बी भवनहरु यि आँखाले देखिसके, दुत्रगतिको रेलैमा सरर पुर्व पश्चिम शयर यि कानहरुले गरिसके। मेलम्चीमय छ देश, तिनले सबैका प्यास मेटिसके। बाक्ला लाइफ ज्याकेट लगाएर बागमतीमा चाचा हुइं गर्दै र्याफ्टिङ गर्दैछन नरनारिहरु।फ्लाई ओभरमय भैइसकेछन् शहरहरु। ओहो!कस्तो भिड रछ अण्डर ग्राउन्ड रेलमा पनि। काठमान्डुको फोहोरमा पनि बिजुली,कर्णालिको पानीमा पनि बिजुली, जोमसोमको हावामा पनि बिजुली, बिजुलीमय छ गाउँ-शहर। उफ! कती सुन्नु यि दिक्दार गाइजात्रे बाणिहरु।। यि गाइजात्रे कलाकारहरुलाइ छोरा जोइल गएकै पिर छ, छोरीलाई बजारिया ज्वाँईहरुले जिस्काए भन्ने पिर छ, भारतीय नम्बर प्लेट टासेर आउनेलाई दर्शनभेट गर्नै ठीक्क छ। सत्ताको फरास खेल्नै ठिक्क छ। कुहिसकेको राज्यको सिनो लुछ्नमै ब्यस्त छ। आम्दानी अठठानी खर्च रुपैया,इकोनोमिमय छ मेरो देश। हामी केवल दर्शक भएका छौ। मुकदर्शक। कहिले सराप्छौ, दारा कित्छौ, कहिले मुठ्ठी बजार्छौ, कहिले टायेर बाल्छौ, टुटेफुटेका ईट्टा बटुल्छौ अनी कुर्छौ सरकारी बग्गी । फेरी आउछन नानीका बाहरु; प्यान्टे भुँडी हल्लाउदै,रङगिन जुँगा मुसार्दै, अनी सुसेल्दै। हामी नाच्छौ वा भनौ नचाइन्छौ; जबर्जस्ती सुसेलिको तालैमा। हो हामी नचाइएका छौ तिनै गाइजात्रे कलाकारहरुको सुसेलिमा। राजन सापकोटा