पर्वत अस्पतालमा १२५ जनाको रक्त परीक्षणगर्दा ४२ जना एचआइभी संक्रमित

पर्वत, २०६९ फागुन ३ । पर्वत जिल्ला अस्पतालमा विभिन्न रोगको उपचारार्थ आएका १२५ जना विरामीको रक्त परीक्षण गर्दा ४२ जनामा एचआइभी पोजिटिभ देखिएको छ । चिकित्सक भन्छन– ‘यो राम्रो लक्षण होईन । यस नतिजाले जिल्लामा एचआइभी संक्रमितको संख्या डरलाग्दो भएको देखाउछ ।’

जनस्वास्थ्य कार्यालय पर्वतमा स्वेच्छिक रक्त परिक्षण तथा परामर्श केन्द्रको स्थापना गराई परिक्षण गर्न थालेपछि एचआईभी संक्रमितहरुको संख्या समेत बढ्दै गएको पुष्टी भएको छ । । पछिल्लो समयमा अस्पतालमा विभिन्न रोग लागेर आएका शंकास्पद विरामीहरुमा गरेको परिक्षणबाट संक्रमितहरुको संख्या बढ्दै गएको तथ्य पत्ता लागेको हो ।

स्वेच्छिक रुपमा कसैले पनि रक्त परिक्षण गर्न नआउने भएकाले एकिन तथ्याङ्क नभएपनि १ सय २५ जनामा गरेको परिक्षणमा ४२ जनामा एचआईभी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मेडिकल सुपरिटेण्डेण्ट डा सागरराज राजभण्डारीले बतए । “मलाई लक्षण देखिएको छ भनेर कोही आउँदैन, शंकाको भरमा परिक्षण गर्दा ४० प्रतिशतमा एचआईभी देखिएको छ यो संख्या निकै ठूलो र डरलाग्दो भएकाले एचआईभी संक्रमितहरुको ठूलो संख्या लुकेर रहेको उनको भनाई छ ।
एचआईभी लागेपछि समाजबाट अपहेलित र तिरस्कृत हुने डरका कारण एचआईभी पीडितहरु समाजमा खुल्न नसक्ने गरेको डा. राजभण्डारीको भनाई छ । शंकास्पद विरामीहरु समेत लाज र आफ्नो बारेमा अरुले थाहा पाउने डरले जिल्लाका एचआईभी पीडितहरु अन्य जिल्लामा जाँच गर्न जाने गरेको उनले बताए । अन्य जिल्लामा समन्वय हुन नसक्ने र उनीहरुको बारेमा जानकारी अरुलाई दिन नमिल्ने भएका कारण समेत यसको संक्रमण बढेर गएको कार्यालयको भनाई छ ।

परामर्श केन्द्रको स्थापना भएपछि शंकास्पद विरामीहरुलाई निशुल्क परिक्षण र मनोपरामर्श दिने गरेका कारण उनीहरुमा आत्म विश्वास बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मनोपरामर्शदाता याम प्रसाद शर्माले बताए । गाउँ गाउँमा एचआईभीको बारेमा जनचेतना जगाउन नसक्नु र सरकारी नीति नियम, कार्यक्रम प्रभावकारी नभएका कारण समस्या भएको उनको भनाई छ ।

एचआईभीको बारेमा जनचेतना अभिवृद्धी गराई सजग गराउने उद्देश्यले जिल्लामा कम्युनिटी सपोर्ट ग्रुप पोखराको सहयोगमा विभिन्न गाविसहरुमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीमा गएका र उनीहरुका परिवारमा जनचेतना जगाउने, समाजमा रहेका संक्रमितहरुलाई आयआर्जनका साथै जीवन उपयोगी सीप सिकाउने जस्ता क्रियाकलाप गरेपछि संक्रमितहरुमा समेत आत्मविश्वास बढेर गएको कार्यक्रमका जिल्ला संयोजक यज्ञ प्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा एचआईभी संक्रमितहरुको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समयमा जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेशीनेहरुको संख्या बढ्दै जान थालेपछि एचआईभी संक्रमितहरुको संख्या पनि बढेर गएको हो ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)