गत जुन २१ देखि २५ तारिख (जेठ ८ देखि १२) सम्म काजकिस्तानको आस्ताना सहरमा भएको एसियाली सिन क्योकुसिन कराँते च्याम्पियनसिपमा नेपालका लागि एकमात्र रजत पदक दिलाउन सफल खेलाडी अनिशा लामा स्याङ्तान आज नगद पुरस्कारसहित सम्मानित भएकी छिन् ।
उनलाई नेपाल सिनक्योकुसिन कराँते सङ्घ, लुनिभा सहकारी संस्था लिमिटेड, नेपाल खेलकुद महासङ्घअन्तर्गत राष्ट्रिय फुलकन्ट्याक्ट कराँते सङ्घ र नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घले सम्मान गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा उनलाई सिन क्योकुसिनले रु १५ हजार ५००, लुनिभा सहकारीले रु १० हजार तथा राष्ट्रिय फुलकन्ट्याक्ट र फुलकन्ट्याक्ट महासङ्घले समान रु ५÷५ हजार नगद प्रदान गरे ।त्यस्तै, उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका कुमार श्रेष्ठ पनि प्रशंसापत्रबाट सम्मानित भए ।
अनिशाले महिलाको ६५ केजी तौल समूहमा नेपालका लागि रजत पदक भित्र्याएकी थिइन् । उनले क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा रुसका खेलाडीलाई पराजित गर्दै सो उपाधि हात पारेकी हुन् । फाइनलमा भने अनिशा काजकिस्तानकी खेलाडीसँग चुकिन् । प्रतियोगितामा १५ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
उक्त सफलतासँगै अनिशा लिथुअनियामा आगामी सन् २०१३ मा हुने विश्व च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस