असार २७ ।अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई युएईको अल वास्ल फुटबल क्लबले प्रशिक्षक पदबाट बर्खास्त गरेको छ । पुरै सिजन कुनै पनि उपाधी जिताउन नसकेकोमा क्लबको बोर्डले राजीनामा दिएपछि अर्जेन्टिनी फुटबलर म्याराडोनाको पद पनि अन्यौलमा परेको थियो ।
क्लबको नव गठित बोर्डको बैठकले म्याराडोना र उनका प्राविधिक सहयोगीको सबै सेवा समाप्त गर्ने निर्णय गरेको हो । म्याराडोनाको कार्यकालमा क्लबले खासै उपलब्धि हासिल गर्न नसकेको र राष्ट्रिय लिगमा पनि क्लबले आठौं स्थान मात्रै हासिल गर्न सकेकाले म्याराडोनालाई हटाईएको हो ।
म्याराडोना गएको वर्ष मे मा अल वास्ल क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको अनुबन्धको अवधि अझै झण्डै एक वर्ष बाँकी छ । क्लबको स्थिति सुधारका लागि भन्दै म्याराडोनालाई प्रशिक्षकमा अनुबन्ध गरिएपनि उनको समयमा कुनै पनि प्रतियोगिताको मुख्य प्रतिस्पर्धा सम्म पुग्न नसकेपछि तिव्र आलोचना भएको थियो ।
खेलाडीका रुपमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोना राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा भने निकै असफल देखिए । उनको प्रशिक्षणमा सन् २०१० को विश्वकप खेलेको अर्जेन्टिना क्वार्टरफाईनलबाटै बाहिरिएको थियो ।